काठमाडाैं - मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इक्यालेण्डर सार्वजनिक गरेको छ । यस वर्षको क्यालेन्डर मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिँदै सार्वजनिक गरेको हाे ।
मेगा बैंकका अनुसार आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ ।
शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न “एक शाखा दुई छोरी” कार्यक्रम बैंकले ल्याएकाे छ । सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत सयौं छात्राहरुलाई अहिले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बैंकले जनाएकाे छ ।
यसपालिको क्यालेन्डरमा छात्रवृत्ति दिइरहेका छात्राहरुको तस्वीर सार्वजनिक गरी उनीहरुलाई प्रोत्साहन गरिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । ‘विपन्न परिवारका यिनै छोरीहरुलाई हामीले भविष्यमा मेगा स्टारका रुपमा हेर्न चाहन्छौं, सोहीकारण उनीहरुलाई यसपालिको क्यालेण्डरमा प्राथमिकता दिएर प्रोत्साहन गरेका हौँ ’– उनले भनिन्।