काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनलाई महा-उत्सवका रुपमा सम्पन्न गर्ने बताउएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै तीनै तहको चुनावमा जनताले उत्साहका साथ सहभागी हुने र यसलाई महाउत्सवका रुपमा सम्पन्न गर्ने सञ्चारमन्त्री कार्कीले बताएका हुन् ।
स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
“चुनाव महासङ्ग्राम होइन, महाउत्सवका रुपमा सम्पन्न गर्नेछौँ”, सरकारका प्रवक्ता कार्कीले भने, “चुनावलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार गम्भीर छ ।”
उनले भने, “प्रेस स्वतन्त्रतालाई हामीले स्पष्टताका साथ संविधानमा उल्लेख गरेका छौँ । यसको रक्षा र संरक्षणका लागि वर्तमान सरकार सधैँ सचेत र चनाखो छ ।”
मन्त्री कार्कीले नेपालको पत्रकारिताजगत्मा सचेतनासँगै पत्रकारको हकहितका लागि रिपार्टर्स क्लबले पुर्याएको योगदानको चर्चा गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सर्वोच्चता स्थापित गराउने कार्यमा क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले आगामी १० वर्षभित्रमा एसियाकै सम्पन्न मुलुकका रुपमा विकास गर्ने योजना सुनाउँदै सोही योजना र लक्ष्यअनुसार सरकार अघि बढिरहेको बताए
उनले भने, “अब हामीहरुको एउटै सङ्कल्प रहनुपर्छ, त्यो सङ्कल्प भनेको मुलुकमा लोकतान्त्रिक स्थिरता र समृद्धिको दिशामा अग्रसर गराउने । त्यस दिशामा हामी सबै एकतावद्ध भएर अगाडि बढौँ ।”