काठमाडाैं - त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा लगातार तेस्रो खेलमा जीत निकाल्दै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि फाइनलमा प्रवेश गरेको हो ।
आज भएको खेलमा पपुवा न्युगिनीलाई नेपालले ३७ रनले हराएकाे छ । नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो ।
पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४७ बल खेल्दै ९ चौका प्रहार गरे । टोनी उराले ४३ रन बनाए ।
त्यस्तै सेसे बाउले २५ रनको योगदान गरे भने नोरमान भानुअले १७, रिले हेकुरेले ६, चाड सोपरले २ तथा कप्तान असद भालाले एक रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले ह्याट्रिससहित ५ विकेट लिए ।
त्यस्तै अविनास बोहरा र सोमपाल कामीले दुईं दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ३३ बल खेल्ने क्रममा तीन चौका र चार छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८, मोहमद आदिलले ३१, कुशल भुर्तेलले १७, आरिफ शेखले २ तथा करण केसीले एक रन बनाए ।
बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले तीन, राइली हेकुरेले दुई तथा नोर्मान आनुअ र नोसैना पोकनाले एक/एक विकेट लिए । जीतसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्षस्थानमा छ ।
सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब शनिबार मलेसियासँग खेल्नेछ ।