इस्लामावाद - पाकिस्तानमा ९० दिनभित्र निर्वाचन हुने भएकाे छ । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले आइतबार प्रधानमन्त्री इमरान खानको संसद विघटनको प्रस्ताव सदर गरेसँगै ९० दिनभित्र निर्वाचन हुने भएकाे हाे ।
संसद् विघटनसँगै आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा राष्ट्रपतिको कार्यालयले जनाएको हाे । प्रधानमन्त्री खानले संसद्मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेका हुन् ।
विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट पारे ।पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनकाे नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् ।
विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उनले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिएका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताएका छन् ।
खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिएका छन् । -एएनआई