काठमाडौं– भारतको तीनदिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार भारत भ्रमणमा गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् ।
भारत पुगेपछि प्रधानमन्त्री देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले शुक्रबार नै भारतीय विदेशमन्त्री एस जयशंकर र भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री देउवासँग जयशंकरले नयाँ दिल्लीस्थित होटल आइटिसी मौर्यमा भेटवार्ता गरे । त्यसपछि नयाँ दिल्लीको दीनदयाल मार्गस्थित भाजपा मुख्यालय पुगेर देउवाले भाजपा अध्यक्ष नड्डासँग पनि भेटवार्ता गरेका थिए । देउवा शुक्रबार राति दिल्लीस्थित नेपाली दूतावासले गरेको रात्रिभोजमा सहभागी भएका थिए ।
देउवाले शनिबार महत्वपूर्ण भेटघाटमा बिताएका थिए । उनी दुई देशका प्रधानमन्त्रीले नेतृत्वको गरेको प्रतिनिधिमण्डलस्तरीय वार्तामासमेत सहभागी भएका थिए । भारतमा रहँदा देउवाले शनिबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरे । त्यसक्रममा केही आयोजनाको उद्घाटन गरिएको थियो । साथै, विभिन्न चारवटा सम्झौता गरिएका थिए । दुई देशका प्रधानमन्त्रीले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन र जयनगर–जनकपुर–कुर्था रेल सेवाको पनि उद्घाटन गरे । देउवा आइतबार बनारससमेत पुगेका थिए ।
भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि प्रधानमन्त्री देउवाको भ्रमण अत्यन्त सकारात्मक भएको बताए । उनले भ्रमणले त्यसमा महत्वपूर्ण योगदान गरेको कुरा प्रतिनिधिमण्डलका सदस्यलाई पनि अनुभूति भएको बताए । ‘यो बीचमा कोभिडका कारणबाट यस्ता उच्चस्तरीय भ्रमण भइरहेको थिएन । नेपाल–भारतको सम्बन्ध बहुआयामिक छ । घनिष्ठ छ । मैत्रीपूर्ण छ । त्यसैले नेपाल–भारतबीच भएका आपसी हितका बारेमा बडो खुलेर छलफल भयो । त्यो नै ठूलो उपलब्धि हो,’ परराष्ट्रमन्त्री खड्काले भने । भ्रमणले नेपाल–भारतको सम्बन्धलाई अझ प्रगाढ र नयाँ उचाइमा पुर्याउनेमा प्रधानमन्त्री देउवासमेत विश्वस्त रहेको उनले बताए ।
परराष्ट्रमन्त्री खड्काले नेपाल–भारतबीचको सीमासम्बन्धी विवादका विषय कूटनीतिक संयन्त्रको वार्तामार्फत् समाधान गर्ने विषयमा छलफल भएको बताए । उनले कालापानी, लिपुलेकलगायत क्षेत्रको विवाद अब परराष्ट्रमन्त्रीस्तरीय र अन्य संयन्त्रमा छलफल हुने जानकारी दिए । भारत भ्रमणको विषयमा देउवाले आलोचना खेपेको विषयको भने मन्त्री खड्काले बचाऊ गरे । देउवाले भाजपा मुख्यालय पुग्नु कूटनीतिक मर्यादाविपरीत भएको भन्दै आलोचना भएपछि परराष्ट्रमन्त्री खड्काले त्यसको बचाऊ गरेका हुन् । भाजपा कार्यालयमा देउवाले गरेको भ्रमण प्रधानमन्त्रीको रूपमा नभई कांग्रेस सभापतिको रूपमा भएको उनले बताए ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणपछि ‘ज्वाइन्ट स्टेटमेन्ट’ (संयुक्त विज्ञप्ति) सार्वजनिक नहुने भएको छ । परराष्ट्रमन्त्री खड्काले दुवै पक्षले आ–आफ्नो प्रेस रिलिज गर्ने र समन्वयका साथ भन्ने समझदारी भएको हुनाले त्यस अनुसार नै संयुक्त विज्ञप्ति जारी नभएको प्रतिक्रिया दिए । यसअघि केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेलामा भएको भारत भ्रमणका क्रममा पनि संयुक्त विज्ञप्ति सार्वजनिक भएको थिएन ।