काठमाडौं– राजधानीमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनल खेल आज (सोमबार) हुँदैछ । उपाधिका लागि आयोजक नेपाल र पपुवान्युगिनी (पीएनजी) भिड्ने भएका छन् ।
नेपालले लिग शतप्रतिशत नतिजासहित फाइनल प्रवेश गरेको थियो भने पीएनजी एक खेल जित्दै नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको अर्को सहभागी राष्ट्र मलेशिया भने १ खेलमा जित हात पार्दै उपाधिबाट बाहिरिएको थियो । नेपालले पीएनजी र मलेशियालाई चारवटै खेलमा पराजित गरेको थियो भने ती दुई देशहरूले १÷१ खेलमा जित हात पारेका थिए ।
फाइनल खेलको पूर्वसन्ध्यामा आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका थिए । फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताएका थिए ।
‘फाइनल खेल निकै नै महत्वपूर्ण छ । हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौं,’ सन्दीपले भने । नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको फाइनल खेल कीर्तिपुर।स्थित टियु मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । यो शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्वपूर्ण रहेको छ । उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ । सन्दीपले भने यस विषयमा श्रृंखला सबै खेलाडीको लागि उत्तिकै महत्वपूर्ण हुने र आफूलाई समेत सोही भएको बताए ।
‘टिमको सदस्य हुँ । अरूलाई जस्तो मलाई पनि उस्तै छ । मेरो कप्तानमा केही विशेष भन्ने हुँदैन,’ सन्दीपले भने । यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने बताए । त्यस्तै उपाधिका अर्का दाबेदार पीएनजीका कप्तान आसाद भालाले आफूहरूले पनि जतिसक्दो राम्रो खेल्ने बताए । उनले भने, ‘हामी पनि उपाधिका दाबेदार नै हौं, खेल त्यही हो भोली जस्ले राम्रो खेल्न उ नै च्याम्पियन बन्नेछ ।’ उनले नेपालका दर्शकहरू उत्कृष्ट भएको बताउँदै नेपाली दर्शकमाझ खेल्दा आफूहरूलाई दबाबका साथै उत्साह पनि थप्ने बताए ।