इटहरी– मनाङ मस्र्याङ्दी क्लब इटहरीमा जारी १२ औं संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा आइतबार भएको दोश्रो क्वाटरफाइनलमा पाहुना टोली कञ्चनजंघा फुटबल क्लब भारतलाई २–० गोल अन्तरले हराउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो ।
मनाङको जितमा आफिज ओलावाले नायक बने । खेलको दुवै गोल उनले गरेका थिए । खेलको १६ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । शिशिर लेखीको क्रसपासमा उनले जाली चुमाए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको मनाङले दोश्रो हाफमा समेत १ गोल थप्यो । खेलको ७८ औं मिनेटमा आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसबाहेक खेलमा दुवै टोलीले केही राम्रा मुभहरूलाई सदुपयोग गर्न सकेनन् । खेलको तेश्रो मिनेटमा अरुण तामाङको प्रहार मनाङका गोलरक्षक विशाल सुनारको हातबाट फुत्किएपनि दिनेश राजवंशीले गोललाइनबाट क्लियर गरिदिए ।
१३ औं मिनेटमा मनाङका शिशिरले लामो दुरीबाट गरेको प्रहार क्रस बारमा लागेर फर्कियो । ४५ औं मिनेटमा आफिजको पासमा फ्रयाङ्कलिन कुटेको प्रहार कञ्चनजंघाका डिफेन्डरले क्लियर गरिदिए । ६४ औं मिनेटमा कञ्चनजंघाका कप्तान सन्दिप लिम्बुको हेडर बाहिरियो ।
६५ औं मिनेटमा शिशिरको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ६९ औं मिनेटमा प्रवेश कुँवरको पासमा दिपक राईको हेडर गोलरक्षक निगम सिंहले पञ्च गरेर बचाए । ७१ औं मिनेटमा अफिजको हेडर गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ७४ औं मिनेटमा कञ्चनजंघाका अनिता राई प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो । इन्जुरी समयमा अञ्जन विष्टले गरेको प्रहार गोलरक्षकले सहजै नियन्त्रणमा लिए । खेलमा दुई गोल गरेका आफिज म्यान अफ दि म्याच हुँदै नगद १० हजार प्राप्त गरे ।खेलपछि कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले पराजयका बाबजुद पनि आफ्ना खेलाडी उत्कृष्ट खेल देखाएको बताए ।