काठमाडाैं - एनआइसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आइतबारका दिन काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्दै एनआइसी एशिया बैंकले २४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेकाे हाे ।
बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सो सभाले मिति २०७८/०७/१० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा श्रीमती बिजया स्वारज्यूलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
सो बमोजिम संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघई निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीहरूको तर्पबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई बैंकको प्रगतिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सफल कार्यकालको उच्च मूल्याङ्कन गरेको छ । साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औँ बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।