काठमाडौं- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टलाई ५–१ गोल अन्तरले हराएको हो ।
पीएसजीको जितमा नेयमार र केलियन एमबाप्पेले दुई दुई गोल गरे । लियोनल मेस्सीको नाम एक गोल रह्यो । खेलको १२ औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
खेलको ५६ औं मिनेटमा टेरेम मोफीले गोल गर्दै लोरियन्टलाई २–१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ३–१ ले अघि रह्यो । खेलको ७३ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता ४–१ को बनाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५–१ को जित दिलाए । यस जितसँगै पीएसजीले ३० खेलमा ६८ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । लोरियन्ट २८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।