काठमाडौं- नेपाली अलराउन्डर दिपेन्द्र सिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै दिपेन्द्रले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् । पीएनजीविरुद्ध २१ रन जोडेसँगै दिपेन्द्रले १ हजार रनको आँकडा पूरा गरेका हुन् ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी बनेका छन् । दिपेन्द्रले टी–ट्वान्टी अन्तर्राष्ट्रियको ३४ इनिङ्स खेल्दै १ हजार रन पूरा गरेका हुन् । दिपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले ३८ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै १ शतक र ५ अर्धशतक बनाएका छन् ।
टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दिपेन्द्रपछी पारस खड्का हुन् । उनले संस्यास अघि ७ सय ९९ रन बनाएका थिए ।दिपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले मलेसियाविरुद्ध १ सय २६ रनको अविजित शतकीय इनिङ खेल्दै नेपाली खेलाडीको उच्च स्कोर बनाएका थिए ।