काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधी नेपालले जितेको छ । सोमबार पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधी जितेको हो ।
नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । पाहुना टोलीका अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । पपुवा न्यूनिगिनीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा ५ चौका प्रहार गरे । साथै उनी नेपालबाट टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
त्यस्तै आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरेका थिए । यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले क्रमशः २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।
पीएनजीका कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १-१ विकेट लिए । योसँगै नेपालले एकदिवसिए सिरिजमा व्यहोरेको हारको बदला समेत दिएको छ ।