काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमबार वीरगञ्जमा साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्दै नेपाल लाइफले २१औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ८,२०,७९,६६,५४४/- हुनेछ ।
उक्त साधारण सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले कुल बीमाशुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हाँसिल गर्न सफल भएको उनले बताए ।
२१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरुबीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दिनहरुमा अगाडि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए ।
सभाबाट आ.व.२०७६/०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।
हाल लगानी रु. १३३.८६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको यस कम्पनीले जनाएको छ ।