काठमाडौं– नेपालको मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट–२०२२ अन्तर्गत प्ले अफको पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा मच्छिन्द्र श्रीलंकाको ब्लु स्टारसँग २–१ गोल अन्तरले पराजित भएको हो । हारसँगै मच्छिन्द्र पहिलो खेलबाटै बाहिरिएको छ ।
मच्छिन्द्रलाई घरेलु मैदानमा स्तब्ध बनाउने क्रममा ब्लु स्टारका मोहमद इशान र सेनल सन्देशले एक÷एक गोल गरे । मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए । ब्लु स्टारले मच्छिन्द्रविरुद्ध तीन मिनेट भित्र दुई गोल गर्दै जित निकालेको हो । खेलको २४ औं मिनेटमा मोहमद इशानले गोल गर्दै ब्लु स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
मोहमद फसलको क्विक फ्रि–किक पासमा इशानले सहजै गोल गरे । त्यसपछि २७ औं मिनेटमा सेनल सन्देशले गोल गर्दै ब्लु स्टारलाई २–० को जित दिलाए । मच्छिन्द्रका रञ्जित धिमालले क्लियर गर्न नसकेको बलमा सन्देशले उत्कृष्ट गोल गरे । खेलको इन्जुरी समयमा कप्तान सुजलले हेडरमार्फत गोल गरेपनि मच्छिन्द्र २–१ ले स्तब्ध भयो । उनले मनिष डाँगी क्रसमा गोल गरे । तर उनको गोल सान्त्वना गोल बन्यो ।
पहिलो हाफमा दुई गोल व्यहोरेपनि खेलमा मच्छिन्द्रले पकड जमाएको थियो । तर, गोल भने गर्न सकेन । नवौं मिनेटमा मच्छिन्द्रका नुर्लानको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । खेलको १६ औं मिनेटमा ब्लु स्टारले पेनाल्टीमा गोल गर्ने अवसर गुमायो । उसका अरीपाडे ओम्बिबीको पेनाल्टी मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । मच्छिन्द्रका देवेन्द्र तामाङले शेनल सन्देशलाई पेनाल्टी क्षेत्रमा लडाएपछि ब्लु स्टारले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको १८ औं मिनेटमा रञ्जित धिमालको कर्नरमा मच्छिन्द्रका देवेन्द्रको हेडर बाहिरिएको थियो । ३७ औं मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङको उत्कृष्ट प्रहार बेलु स्टारका गोलकिपर फेर्नान्डोले उत्कृष्ट बचाऊ गरे । खेलको ४९ औं मिनेटमा मच्छिन्द्रका सुनिल बलको फ्रि–किक ब्लु स्टारका गोलकिपर फेर्नान्डोले मुश्किलले जोगाए । ५१ औं मिनेटमा ब्लु स्टारका प्रिन्स बोडुको प्रहार मच्छिन्द्रका गोलकिपर विशालले उत्कृष्ट बचाउ गरे ।
खेलको ६० औं मिनेटमा मच्छिन्द्रका करिमको हेडर पोस्टमा लागेर फर्किएको थियो । ६४ औं मिनेटमा मच्छिन्द्रका विमलको प्रहार ब्लु स्टारका गोलकिपरले सहजै बचाए । खेलको ६८ औं मिनेटमा मच्छिन्द्रले गोलको अवसर गुमायो । अविशेक रिजालको क्रसमा विमलको हेडर पोस्टमा लागेर फर्किएको थियो। त्यहिँ रिबाउन्ड बलमा छिरिङ गुरुङको प्रहार ब्लु क्रसका कप्तान थरिन्दु इरान्गाले गोललाइनबाट क्लियर गरे । यस्तै ७७ औं मिनेटमा मच्छिन्द्रका रञ्जित धिमालको क्रसमा अनमार्क रहेका कप्तान सुजल श्रेष्ठको हेडर बाहिरिएको थियो । अब ब्लु स्टारले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । उक्त खेल अप्रिल १२ मा हुनेछ ।