काठमाडौं – सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । महिला उद्यमी तथा साना किसानहरूका लागि मुल्य श्रृंखलामा लगानीसम्बन्धी मंगलबार सिद्धार्थ बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको हो ।
किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेल र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा.शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार पशुपालन सम्बन्धी कृषि क्षेत्रहरु जस्तै बाख्रापालन, पशुपालन तथा तरकारी लगायतका मूल्य शृंखलाहरुमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले अनुदानमा आधारित वित्तिय कर्जा उपलब्ध गराउने छ ।
यस साझेदारीको मुख्य उद्देश्य, महिला उद्यमी तथा साना किसानहरूको व्यवसाय विस्तार गर्ने ,क्षमताको मूल्याङ्कन र विकासमा केन्द्रित गर्ने रहेको छ ।
उक्त योजनामा हेफर नेपालका तर्फबाट सामाजिक उद्यमी महिला सहकारी र स्थानिय सरकार पनि आबद्घ रहेका छन् । सिद्धार्थ बैंकले उक्त सम्झौता अनुरुप उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ ।