काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवर्दन गरी दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन प्रधानमन्त्रीले बताएका हुन् ।
प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभ रूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरे ।
गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव रहेको बताए ।
प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग निरन्तररूपमा उपलब्ध गराउन सरकार सकारात्मक रहेको उनले बताए । पूर्वाधारहरूको विकास गरी अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन प्रधान मन्त्री देउवाले सुझाव दिए।
विसं २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा स्थापना भएको उक्त अस्पताल हाल ५०० शय्यामा स्तरोन्नति भएको छ ।।