काठमाडौं- अर्जेन्टिनाका लिजेन्ड डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध लगाएको जर्सी लिलामी हुने भएको छ । इंग्ल्यान्डविरुद्ध उनले हातले गरेको गोल ’ह्यान्ड अफ गड’ नामले चर्चित छ । खेलमा अर्जेन्टिनाले २–१ गोल अन्तरले इंग्ल्यान्डलाई पराजित गर्न सफल भएको थियो ।
खेलपछि दुई देशका खेलाडीले जर्सी साटासाट गर्दा म्याराडोनाको उक्त जर्सी इंग्ल्यान्डका मिडफिल्डर स्टिभ हजसँग रहेको छ । म्याराडोनाको त्यो आइकनिक जर्सी चार मिलियन पाउण्ड भन्दा बढीको बोली लाग्ने अनुमान गरिएको छ । म्याराडोनाको त्यो जर्सी २० वर्षदेखि म्यानचेस्टरको राष्ट्रिय फुटबल संग्राहलय राखिँदै आएको थियो ।
म्याराडोना सन् २०२० को नोभेम्बरमा मृत्यु भएको थियो । फुटबल इतिहासमा म्याराडोनालाई एक अलग क्षमता भएका खेलाडीको रुपमा हेरिन्छ । म्याराडोनाको जर्सी २० अप्रिल देखि ४ मे सम्म अनलाइन अक्सनमा राखिने छ ।