[caption id="attachment_25242" align="alignnone" width="800"]
[/caption]
काठमाडौं– प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् । चैते दसैंका अवसरमा शनिबार बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठा–मीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दसैं पर्व मनाएका छन् ।
बडादसैंजस्तै चैते दसैंको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैते दसैंका अवसरमा विशेषपूजा गरिएको छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, उग्रतारा, वागेश्वरी, गहवामाई, मनकामना, कालिका देवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।
आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैंलाई बडादसैं भनिन्छ । बडादसैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ ।
चैते दसैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दसैंघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दसैंमा अष्टमी र नवमीलाई विशेषरूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई रामनवमी पर्वका रूपमा मनाइन्छ ।