काठमाडौं- एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल उज्वेकिस्तानसँग ५ १ गोलको फराकिलो अन्तरले पराजित भएको हो । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा आइतबार नेपाल एक तर्फ रुपमा पराजित हुन पुगेको हो ।
उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल गरे । खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले एक एक गोल गरे । नेपालका मणि लामाले एक गोल फर्काए ।
बलियो टोली उज्वेकिस्तानविरुद्ध नेपाल पहिलो हाफमै तीन गोलले पछि परेको थियो । दोस्रो हाफमा नेपालले एक गोल फर्काउदा थप दुई गोल व्यहोरेको थियो । खेलको दोस्रो मिनेटमा निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा अकबरले गोल गर्दै टिमको अग्रता २–० को बनाए ।
खेलको १६ औं मिनेटमा इख्तियोरले गोल गर्दै उज्वेकिस्तानलाई ३–० को अग्रता दिलाए । खेलको २८ औं मिनेटमा नेपालका मणिले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । खेलको ३२ औं मिनेटमा इख्तियोरले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानलाई ४–१ को अग्रता दिलाए । त्यसपछि खेलको ४० औं मिनेटमा गोलकिपर एब्बोसले गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को सहज जित दिलाए ।
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ।