काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आइतबार राती यो सिजनकै सबैभन्दा प्रतिष्ठित भिडन्त हुँदैछ, जति बेला म्यानचेस्टर सिटीले इतिहाडमा लिभरपुलको आथित्य गर्नेछ । यो ईपीएलकै अघोषित फाइनल रहेको छ, किनभने यो खेलको नतिजाले धेरै हदसम्म लिग कसले जित्नेछ, त्यो निर्धारण गर्नेछ । पेप ग्वार्डिओलाको टिमको ७३ अंक छ र यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि खालि एक अंकको अग्रता मात्र हो, अनि लिगमा यो सातापछि खालि सात चरणका खेल मात्र बाँकी हुनेछन् ।
सिटीको घरमा आउँदा लिभरपुल माथिल्लो डिभिजनमा लगातार १० खेलको जितमा रहनेछ । तर पछिल्ला पाँच सिजनमा चौथो उपाधि जित्न सक्ने अवस्थामा रहेको सिटीले भने पछिल्ला पाँच खेलमा पाँच अंक गुमाइसकेको छ । फेब्रुअरीमा नरविचलाई हराएयता सिटीले लगभग लय गुमाएको स्थिति छ । लिभरपुलले यो खेल जित्छ भने अक्टोबर १ यता अंक तालिकामा ठोस अग्रता लिन सफल हुनेछ, यो भनेको त्यो दिनको अन्त्यमा ।
ईपीएलमा एउटा रमाइलो तथ्य के छ भने सिजनको अन्त्यतिर दुई शीर्ष टिमबीचका पछिल्ला १० खेलमा दोस्रोमा रहेकोले सात पल्ट जित निकालेको छ । अझ त्यसमा दोस्रोमा स्थानमा रहेको टिम लगातार पाँच पल्ट खेल जित्न सफल रहेको छ । लिभरपुल अहिले ऐतिहासिक सफलताको संघारमा छ, किनभने यस अगाडि नै लिगकप जितिसकेको यो टिमसामु अझै थप तीन उपाधि जित्ने अवसर, छ । सिटीसामु पनि तीन अवसर छन्, लिग, एफएकप र च्याम्पियन्स लिग।
लिभरपुलको चुनौती पनि यी तीनै प्रतियोगितामा बाँकी छ । लिभरपुलका व्यवस्थापक योर्गन क्लोप मान्छन्, ‘अझै लामो बाटो तय गर्नु छ र यस्तो स्थितिमा टिमलाई उत्कृष्ट प्रदर्शनकै आवश्यकता पर्छ ।’ तथ्यांक विशेषज्ञहरूका अनुसार यदी आजको खेलमा सिटी विजयी रहे, उसले लिग उपाधि जितने सम्भावना ८६ प्रतिशत हुनेछ । यदी लिभरपुलले आजको खेल जिते, उसको लिग उपाधि जित्ने सम्भावना भने ६८ प्रतिशत हुनेछ । यस्तो किन त ?
यो खेलपछिका बाँकी सात खेलमा जहाँ सिटीका प्रतिद्वन्द्वी सजिला छन्, त्यहीं लिभरपुलका विपक्षी टिम भने बलिया छन् । यसमध्ये सिटीको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो, वेस्ट ह्याम । लिभरपुलले भने अझै म्यानचेस्टर युनाइटेड र टोटनहमविरुद्ध खेल्नुछ । यति मात्र होइन्, उसको अन्य प्रतिद्वन्द्वीमा एभरटन, न्युकासल युनाइटेड, एस्टन भिल्ला, साउथह्याम्पटन र उल्भ्स छन् । लिभरपुलका लागि पक्कै पनि अबका दिन सजिलो हुने छैन्, जति सिटीका लागि हुने अनुमान गर्न सकिन्छ ।
अहिले तत्काल भने सबैको ध्यान आजकै खेलको ९० मिनेटमा हुनेछ, जसले निर्णायक अर्थ राख्नेछ । क्लोप मान्छन्, ग्वार्डिओला विश्व फुटबलकै एक सर्वकालीन महान प्रशिक्षकमध्ये एक हुन् । अनि ग्वार्डिओलो पनि के मान्छन् भने उनले आफ्नो पूरा प्रशिक्षक जीवनमै क्लोप जत्तिको राम्रो प्रशिक्षकको सामना गर्नु परेको छैन् । यस्तोमा आजको खेलको नतिजा के हुने हो त ? सबै यही खेलको नतिजाको प्रतीक्षामा हुनेछन् र विश्वास गरौं, यो खेल अब्बल दर्जाको हुनेछ । -बीबीसीको सहयोग