'घुमी घुमी झर्यो, ओरालीको बाटो
तिमी आउनु त्यही बाटो, अरु आउनु साटो'
काठमाडाैं - गायक सुजन चापागाईंको म्युजिकल फिल्म 'घुमी घुमी' सार्वजनिक भएकाे छ । शनिबार गायक सुजन चापागाईंको युट्युब च्यानलबाट म्युजिकल फिल्म 'घुमी घुमी' सार्वजनिक भएको हाे ।
'तीनपाते'बाट चिनिएका गायक सुजनका पछिल्ला गीत उतिकै मनप्रिय छन् । यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत 'घुमी घुमी' युट्युवमा लोकप्रिय बन्दै गइरहेको छ ।
सुजन र गायिका शान्तिश्री परियारको युगल आवाजको गीतका शब्द यसरी बगेका छन्। शब्द गीतकार हर्क साउदका हुन् । १७ मिनेट २८ सेकेण्डको म्युजिकल फिल्मलाई निर्देशन गरेका छन्, नवीन चौहानले । कथा पनि उनै चौहानको रहेकाे छ ।
भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अन्जना बराइलिको जबर्जस्त अभिनय देख्न सकिन्छ । निर्देशक चौहानसँग विपिनको यो दोस्रो सहकार्य रहेकाे छ । यसअघि चौहानले निर्देशन गरेका गीतिभिडियो 'बटौली'मा विपिनले अभिनय गरेका थिए ।
'घुमी घुमी'ले नेपाली समुदायको कथालाई फरक ढंगले प्रस्तुत गरेको छ । बसाइँसराइको आन्तरिका पाटा र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति, लोक विचार, लोक भावनाका कुराहरू म्युजिकल फिल्मले भन्छ । कथालाई बगाउने सुन्दर पाटो भनेको दुई पात्रबीचको प्रेम हो । प्रेमको सौन्दर्यलाई कथाले नजिकबाट नियाल्न प्रेरित गर्छ ।
म्युजिकल फिल्ममा विपिन र अञ्जनासँगै सम्रान्त थापा र हर्क साउदको पनि अभिनय छ । गीतलाई गंगा थापाले एरेन्ज तथा पार्श्व संगीत गरेका हुन् भने मिक्सिङ्ग मास्टरिङ्ग कोबिद बज्रले गरेका हुन्। भिडियोलाई महेश पौडेलले खिचेका छन् भने सुरज पौडेलले सम्पादन गरेका छन् ।