काठमाडौं– दक्षिण अफ्रिकाले बंगलादेश विरुद्धको टेष्ट सिरिज क्लिन स्वीप गरेको छ । दक्षिण अफ्रिकाले दोस्रो तथा अन्तिम टेष्टमा ३३२ रनको फराकिलो जितसँगै टेष्ट सिरिज क्लिन स्वीप गरेको हो । पहिलो टेष्टमा पनि घरेलु टोली २२० रनले विजयी भएको थियो ।
जितका लागि ४१३ रनको विशाल लक्ष्य सहित जबाफि ब्याटिङ गरेको पाहुना टोली चौथो दिन २३.३ ओभरमा ८० रनमा अलआउट भएपछि घरेलु टोलीले सहज जितसहित सिरिज क्लिन स्वीप गर्ने सफल भएको हो । बंगलादेशका लागि दोस्रो पालीमा विकेट किपर लिटन दासले सर्वाधिक २७ रनको योगदान दिए । त्यस्तै मेहदी हसन २० रनमा पेवेलियन फर्किए भने ओपनर तमिम इकवालले १३ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका पाँच जना खेलाडी डक (शून्य रनमा) आउट भए ।
बंगलादेशको पाली ध्वस्त पार्नेक्रममा घरेलु टोली दक्षिण अफ्रिकाका केशव महाराज एक्लैले ७ विकेट लिए । त्यस्तै साइमन हार्मरले ३ विकेट लिए । महाराजले १२ ओभरमा ४० रन दिएर ७ विकेट लिए भने हार्मरले ११.३ ओभरमा ३४ रन खर्चेर ३ विकेट हात पारे । यस अघि टस जितर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४५३ रनको योगफल खडा गरेको थियो । पहिलो पालीमा उसका चार खेलाडीले अर्धशतक प्रहार गरेका थिए । घरेलु टोलीका केशव महाराज सर्वाधिक ८४ रनको योगदान दिए । उनले ९५ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै कप्तान तथा ओपनर डेन एल्गरले पनि ७० रनको महत्वपूर्ण पाली खेले । एल्गरले ८९ बलमा १० चौका प्रहार गरे । त्यस्तै किगन पीटरसन र टेम्बा बाभुमाले पनि अर्धशतक प्रहार गरे । १४२ बलको सामना गरेका बाभुमाले ६७ रनको योगदना दिए भने १२४ बलको सामना गरेका पीटरसरनले ६४ रनको योगदान दिए ।
पहिलो पारीमा भ्रमणकारी टोलीका ताइजुल इस्लाम सर्वाधिक ६ विकेट लिए । त्यस्तै खालिद अहमदले ३ विकेट चट्काए भने मेहदी हसनको नाममा एक विकेट रहयो । ४५३ रनको जबाफमा ब्याटिङ गरेको बंगलादेशले पहिलो पारीमा पनि निकै कमजोर प्रदर्शन गरेको थियो । उसले पहिलो पारीमा दोस्रो पारीको भन्दा सुधारीएको प्रदर्शन गरेको भए पनि जम्मा २१७ रन मात्रै बनाउन सक्यो । पहिलो पारीमा पाहुना टोलीका लागि मुस्फीकुर रहमाले सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै ओपनर तमिम इकवालले ४७ रन बनाए भने यासिर अलीले ४६ रनको पारी खेले । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा पहिलो पारीमा घरेलु टोलीका साइमन हार्मर ३ विकेट लिए भने डुआन ओलिभर र केशव महाराजले समान २–२ विकेट लिए ।
पहिलो पारीमा २३६ रनको अग्रता बनाएको घरेलु टोलीले दोस्रो पारीमा ६ विकेट गुमाएरु १७६ रनमा पाली समाप्तीको घोषणा गरेको थियो । उसका लागि काइल भरानले सर्वाधिक ४१ रनको पाली खेले । त्यस्तै सारेल एर्वीले ३९ रनको योगदान दिए । बंगलादेका लागि ताइजुल इस्लाम ३ विकेट लिए । त्यस्तै मेहदी हसनले २ विकेट हात पारे भने खालिद अहमदको नाममा १ विकेट रहयो । खेलको म्यान अफ दि म्याच तथा म्यान अफ दि सिरिज केशव महाराज घोषित भए ।