काठमाडौं - निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा तीन दिनभित्र जवाफ बुझाउन निर्देशन दिएको छ ।
आज काठमाडौँमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगले गत चैत्र २६ गते काठमाडौँमा आयोजित पार्टीको आमसभामा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी आएको उल्लेख गर्दै आधार प्रमाणसहित ३ दिनभित्र चित्तबुझ्दो जवाफ दिन नेकपा एकीकृत समाजवादी लाई निर्देशन दिएको हो ।
यसैगरी आयोगले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चबारे नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालासँग पनि जवाफ माग गरेको छ ।
नेता कोइरालाले सो निर्वाचनमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिनुभएको तर उहाँले आयोगमा पेश गर्नुभएको विवरणमा भने २१ लाख ७५ हजार मात्रै उल्लेख भएकाले के कसो भएको हो, त्यसको जवाफ ७ दिनभित्र दिन नेता कोइरालाको ध्यानाकर्षण पनि गराइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।