काठमाडौं– एएफसी फुटसल एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा सोमबार ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
नेपालले सुरुआती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा लगातार गोल व्यहोरेको थियो । आदील हामिदले तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । तर, आठौं मिनेटमा योरोभ इद्रिसले गोल गर्दै ताजिकिस्तानलाई १–१ गोलको बराबरीमा ल्याए । २१ औं कुजिभ उमेदले गोल गर्दै ताजिकिस्तानलाई २–१ को अग्रता दिलाए । सार्दोरोभ फाइजलीले २५ औं मिनेटमा गोल गर्दै ताजिकिस्तानलाई ३–१ को अग्रता दिलाए ।
फाइजलीले ३१ औं मिनेटमा गोल गर्दै ताजिकिस्तानलाई ४–१ को अग्रता दिलाए । खेलको ३२ औं मिनेटमा फाइजलीले ह्याट्रिक पूरा गर्दा ताजिकिस्तान ५–१ ले अघि रह्यो । खेलको ३३ औं मिनेटमा हालिमोभ शभोक्वाटले गोल गर्दै टोलीलाई ६–१ को अग्रता दिलाए । ३४ औं मिनेटमा उमेदले गोल गर्दै ताजिकिस्तानको अग्रता ७–१ को बनाए ।
खेलको ३४ औं मिनेटमा हालिमोभले व्यक्तिगत दोस्रो गोल गर्दै ताजिकिस्तानको अग्रता ८–१ को बनाए । ३७ औं मिनेटमा रिजोमोभ समान्दरले गोल गर्दै ताजिकिस्तानको अग्रता ९–१ को बनाए । त्यसपछि खेलको ३८ औं मिनेटमा योरोभ र रिजोमोभले गोल गरेपछि ताजिकिस्तान ११–१ ले विजयी भयो । यस हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । यस अघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।