काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्पेनिस डिफेन्डर सर्जिरो रामोसले अझै ५ वर्ष फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् । अमेजन प्राइमसँग कुरा गर्दै रामोसले अझै पाँच वर्ष शीर्ष डिभिजनको फुटबल खेल्ने योजना रहेको बताएका हुन् ।
स्पेनका भेट्रान डिफेन्डर रामोस पछिल्लो समय इन्जुरीसँग जुधि रहेका छन् । तर, ३५ वर्षीय रामोसले अझै फुटबल खेल्ने इच्छा रहेको धारणा व्यक्त गरेका छन् । 'म शीर्ष स्तरमा थप चार देखि पाँच वर्ष खेल्न चाहन्छु र त्यसपछि अर्को अनुभव बाँच्न चाहन्छु,’ सेन्टर ब्याकले रामोसले भनेका छन् ।
रामोस गत सिजन रियल मड्रिडबाट पेरिस आएका थिए । उनको सम्झौता अझै दुई वर्ष रहेको छ । 'पीएसजीमा मसँग दुई वर्ष बाँकी छ । हामी तीन गर्न कोशिस गर्नेछौं र त्यसपछि हामी हेर्नेछौं,’ रामोसले थपे, 'जबसम्म मेरो शारीरिक अवस्था रहन्छ । मलाई लाग्छ कि म मेरो दिमागलाई केन्द्रित राख्न सक्छु ।’ रामोसले उत्कृष्ट टोलीबाट खेल्न आफुले रुचाउने समेत बताए । 'म उत्कृष्ट खेलाडी बन्नु भन्दा उत्कृष्ट टोलीमा खेल्न रुचाउँछु किनभने फुटबल सामूहिक खेल हो र यो एक टोलीको रूपमा जित्ने कुरा हो,’ उनले भने ।