काठमाडौं- शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिपमा विभागीय टोली एपीएफले सान्तोना जित हात पारेको छ । मंगलबार एपीएफले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्दै समूह चरणको अन्तिम खेलमा जित निकालेको हो ।
सिदार्थनगरमा १ सय २६ रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभारमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसको जितमा कप्तान प्रदिप ऐरीले ५४ रनको अविजित इनिङ खेले । यस्तै ओपनर दिपक बोहराले ४२ रनको योगदान गरे । ट्यालेन्ट हन्टका मोहमद मोशार्रफले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको ट्यालेन्ट हन्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । उसका असदुरजमान बरेनायोले ३०, शरिअरे रिमोनले २२ तथा राज बमले २१ रन बनाए । एपीएफका प्रदिप ऐरी र भुवन कार्कीले समान २ विकेट लिए । एपीएफको प्रतियोगितामा यो पहिलो जित हो । उसले ३ खेलमा १ जित निकाल्दै २ अंक बनाउँदा प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै ट्यालेन्ट हन्ट प्रतियोगितामा जित बिहिन हुँदै बाहिरिएको छ ।