सिन्धुपाल्चोक– खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची नदीको पानी पुनः पथान्तरणको लागी उद्घाटन गरेका छन् । नयाँ वर्ष आए लगत्तै पानी काठमाडौंमा वितरण गर्ने उदेश्यले नयाँ वर्षको पूर्व सन्ध्यामा मन्त्री चौधरीले नदीको पानी पुनः पथान्तरणको लागी उद्घाटन गरेका हुन् । उनले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए ।
मंगलबार उद्घाटन गरिए पनि काठमाडौंमा पानी उपलब्ध गराउन भने अझै दुई साता लाग्न सक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । मन्त्री चौधरीले आउँदो वैशाख सम्ममा काठमाडौंको धारामा पानी पुग्ने बताए । उनले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकोमा खुसी व्यक्त गर्दै लक्ष्य प्राप्त गर्न सहयोग गर्ने सरोकारवालालाई आभार प्रकट गरे ।
मेलम्ची नदीको पानी पुनः पथान्तरण गर्दै मन्त्री चौधरीले सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याले आज यो सम्भव भएको बताए । उनले स्थायीरूपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए ।
उद्घाटन कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुका बाढीपीडितको तर्फबाट संघीय सरकारको ध्यानाकर्षण गराएका थिए । उनले खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न मागहरू समेटेर एघार बुँदे ज्ञापनपत्र बुझाएका थिए । अध्यक्ष शेर्पाले ज्ञापनपत्र बुझाउँदै हेलम्बुका बाढीपीडितलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए ।
उनले मेलम्चीको पानी काठमाडौं लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँटबापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाको पनि माग गरे । कार्यक्रममा बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेद निधि खनाल, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतको उपस्थिति रहेको थियो ।