काठमाडौं– यो सिजनको च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिड सेमिफाइनमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लिगमा चेल्सीसँग पराजित भए पनि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
मंगलबार राति क्वार्टरफाईनलको दोस्रो लेगमा ३–२ गोल अन्तरले पराजित भए पनि पहिलो लेगमा लिएको अग्रताले रियललाई सहज बनेको हो । रियलले समग्रमा ५–४ को नतिजा सहित अन्तिम चारमा स्थान बनाएको छ । पहिलो लेगमा रियल ३–१ गोल अन्तरले विजयी भएको थियो ।
खेलमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सी एक समय सेमिफाईनल नजिक पुगेको थियो । तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका रोड्रिगोले रियललाई बराबरीमा ल्याएका थिए । थपिएको अतिरिक्त समयमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सेमिफाईनलको यात्रा तय गराए ।
रियलको घरेलु मैदानमा चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । मिसन माउन्टले १५ औं मिनेटमा लण्डन क्लबलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा रुडिगरले गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उत्कृष्ट पुनरागमन दिलाएका थिए । तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा साविक विजेता चेल्सी क्वार्टरफाईनल बाटै घर फर्कनु परेको हो । अब रियले सेमिफाइनमा म्यानचेष्छर सिटी र एथलेटिको म्याड्रिय बीचको विजेतासँग खेल्नेछ ।
यता उपाधिको दावेदार जर्मन क्लब बायर्न म्युनिख भने च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार राति स्पेनिस क्लब भिल्ला रियलसँग क्वार्टरफाईनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै बायर्न प्रतियोगिताबाट बाहिरिएको हो । घरेलु मैदानमा बराबरी खेलेको बार्यन समग्रमा स्पेनिस २–१ ले पछि प¥यो । पहिलो लेगको खेलमा भिल्ला रियलले घरेलु मैदानमा १–० को अग्रता लिएको थियो । सो अग्रता नै उसका लागि सेमिफाइन प्रवेश गर्नका लागि पर्याप्त बन्यो ।
दोस्रो लेगमा रोबर्ट लेवास्डोस्कीले गोल गर्दै बायर्नलाई प्रतियोगितामा अघि बढाउने कोशिश गरेका थिए । तर भिल्ला रियलले एक गोल फर्काउँदै समग्रमा २–१ को नतिजा सहित अन्तिम चारको यात्रा तय गर्यो । १६ वर्षको अन्तरमा पहिलो पटक भिल्ला रियल च्याम्पियन्स लिग फुटबलको सेमिफाईनल प्रवेश गरेको हो । अन्तिम चारको खेलमा भिल्ला रियलले बेन्फिका र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।