काठमाडौं (प्रस)– घरेलु मैदानमा भएको त्रिदेशीय ट्वान्टी २० श्रृंखला विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई सरकारले जनही नगद दुई लाख रूपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही दुई लाख रूपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले श्रृंखला विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को निर्णयअनुसार श्रृंखला खेलेका १६ खेलाडीले जनही दुई÷दुई लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रूपैयाँ प्राप्त गर्नेछन् ।
मलेसिया र पपुवा न्यु गिनी (पिएनजी) सम्मिलित त्रिदेशीय शृंखलाको उपाधि नेपालले शतप्रतिशत नतिजासहित जितेको थियो । नेपालले फाइनलमा पिएनजीलाई ५० रनले पराजित गर्दै उपाधि चुमेको थियो ।