काठमाडौं– नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चांग) र भित्तेपात्रो (क्यालेण्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ । समितिको बैठकले पहिलोपटक मौखिक रूपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ । स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ ।
समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन् । नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चांग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन् । यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए ।
पहिलो चरणको अनुगमनमा तीन पात्रो र नौ भित्तेपात्रो स्वीकृति नलिई प्रकाशन भएको तथ्य अनुगमन उपसमितिले फेला पारेको छ । अनुगमन अहिले पनि जारी रहेको बताइएको छ । अनुगमनपछि स्वीकृति नलिई प्रकाशन भएका अरू पात्रो र भित्तेपात्रोको सूची सार्वजनिक गरिने समितिले जनाएको छ ।
समितिसँग स्वीकृति लिएर हालसम्म १४ पात्रो र ८०० भन्दा बढी भित्तेपात्रो प्रकाशन भएका छन् । हाल दैनिक ५० भन्दा बढी भित्तेपात्रोले समितिसँग स्वीकृति लिएका छन् । राजधानीबाहिरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोले अनलाइनबाटै स्वीकृति लिनसक्ने व्यवस्था गरिएको छ ।