काठमाडौं- इंग्लिस क्लब लिभरपुल र म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेल्दै लिभरपुल र एथलेटिको मेड्रिडसँग गोल रहित बराबरी खेल्दै सिटीले अन्तिम चारमा स्थाना बनाएका हुन् ।
लिभरपुल र बेन्फिकाले दोस्रो लेगको खेलमा ३–३ गोलको बराबरी खेलेका थिए । यो बराबरी पछि लिभरपुल समग्रमा ६–४ को जित निकालेको हो । पहिलो लेगमा लिभरपुलले ३–१ को जित निकालेको थियो । सो जित नै लिभरपुलका लागि सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण बन्यो ।
दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्होले दुई गोल गरे । खेलको २१ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई १–१ को बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।
६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ को बनाए । खेलको ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दा बेन्फिका ३–२ को स्थितिमा आयो । त्यसपछि खेलको ८१ औं मिनेटमा बेन्फिकाका डार्विन नुनेजले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो । अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।
रातिनै भएको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेदै समग्रमा १–० को जितसहित अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको १–० को जितनै उसका लागि अन्तिम चारमा प्रवेशका लागि पर्याप्त बन्यो । एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुबै टोलीले गोल गर्न सकेनन् । सेमिफाइनमा सिटीले स्पेनकै रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।