काठमाडौं- रुपन्देही–११ नेपाल प्रो–क्लब च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । सिदार्थनगर क्रिकेट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै रुपन्देही–११ फाइनलमा पुगेको हो ।
आर्मीले दिएको १ सय ४ रनको सामान्य लक्ष्य रुपन्देहीले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । रुपन्देहीको जितमा बसिर अहमदले ४५ रन जोडे । सन्दीप रजालीले अविजित १९ रन जोड्दा विशाल बिक्रम केसीले १३ रन बनाए । आर्मीका बिक्रम सोबले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३ रन जोडेको थियो । आर्मीका लागि रोहित पौडेलले ३६ रन जोडे । हरि चौहानले १७ तथा राजेश पुलामीले १३ रन बनाए । रुपन्देहीका रुपेश कुर्मी र बसिर अहमेदले २/२ विकेट लिए । अब फाइनलमा रुपन्देहीले मलेसिया–११ सँग खेल्नेछ । उत्तर प्रदेश क्लब–११ लाई १४ रनले हराउँदै मलेसिया फाइनल पुगिसकेको छ ।