जनकपुरधाम– मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेश मार्फत् प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् । बिहीबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले ३० वैशाखसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताए ।
संघीय सरकारले ३० वैशाखसम्म प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने उनको भनाई थियो । मधेस सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको बताउँदै उनले संघीय सरकारले अबिलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको जनाए । ‘तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ’, उनले भने, ‘संघ सरकारले ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’
यसअघि २९ चैतको प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री साहले भनेका थिए, ‘धेरै होइन २/३ सय जति प्रहरी जवान भर्नाका लागि प्रस्ताव लग्छौं ।’ त्यस्तै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनकपुरमा उम्मेदवारले धमाधम प्रचार–प्रसार सुरु गरेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयरका लागि उम्मेदवारी दिन लागेका जानकी राम साहले एकै पटक पाँच स्थानमा सम्पर्क कार्यालयको उद्घाटन गरेर छन् ।
वर्तमान वडा नं. ७ का वडाध्यक्ष रहेका साहले चुनावलाई ध्यानमा राख्दै सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका लागि पाँच जनाको नाम सिफारिस गरिएकोमा साहको समेत सिफारिस गरिएको छ । पार्टीको तर्फबाट अन्तिम टुंगो नलाग्दै उनले प्रचार प्रसार सुरु गरेका हुन् ।
सम्पर्क कार्यालय उद्घाटन गर्दै साहले जनकपुरधामको समग्र विकासका लागि आङ्कनो उम्मेदवारी रहने बताए । उनले जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे । उनले जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकाले यसपालि आफूलाई सहयोग गर्न सबैसँग आग्रह गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका लागि लोसपाबाट पाँच जनाको नाम सिफारिस भएको छ भने एमालेले एक जनाको नाम सिफारिस गरेको छ । जसपाले वर्तमान मेयर लालकिशोर साहलाई उम्मेदवार बनाउने तयारीमा छ ।