काठमाडौं- रुपन्देही–११ ले नेपाल प्रो–क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । सिदार्थनगर क्रिकेट रंगशालामा शनिबार भएको फाइनलमा मलेसिया–११ लाई ७ विकेटले हराउँदै रुपन्देहीले उपाधि उचालेको हो ।
मलेसियाले दिएको १ सय ४१ रनको लक्ष्य रुपन्देहीले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । रुपन्देहीको जितमा प्रज्वल थापाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै सन्दीप रजालीले ४१ रन बनाए । मलेसियाका लागि मुहमद वाफिक, सायद अजिज र शार्विनले समान १-१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मलेसिएन टोलीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । उसका लागि नज्रिल रहमानले ३६, सेईद अजिजले २० तथा जुबईदी जुल्कफ्लेले २६ रन बनाए । मलेसिएन टोलीलाई सस्तैमा रोक्ने क्रममा रुपन्देही–११ का बसिर अहमदले २ तथा कृष्ण कार्की, रुपेश कुर्मी, बिक्रम भुसाल र बिशाल बिक्रम केसीले समान १-१ विकेट हात पारे ।
उपाधिसँगै रुपन्देहीले २ लाख ५० हजार प्राप्त गरेको छ । मलेसियाले १ लाखमा चित्तबुझायो । तेस्रो भएको भारतको उत्तर प्रदेशले ५० हजार र चौंथो भएको आर्मीले २५ हजार प्राप्त गरेको छ । रुपन्देहीका बसिर अहमेद प्लेयर अफ दि टुर्नामेन्ट चुनिए ।