बझाङ- नेपाली कांग्रेस बझाङका सभापति सवार जिप दुर्घटना भएको छ ।
शनिबार राति बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै नेपाली कांग्रेस बझाङका सभापति खड्ग बोहरा र उनका परिवार सवार जिप दुर्घटना भएको हाे ।
दुर्घटनामा एक जनाको मृत्यु भएको र ३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिएका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा बोहराका २७ वर्षीय छोरा विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने जयपृथ्वी नगरपालिका ११ की १०१ वर्षीया भुजी देवी देउरुखी, सुर्मा गाउँपालिका २ की १९ वर्षीया अञ्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा गरी ३ जना घाइते भएका हुन्।
घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ अञ्जुको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।
जिपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय बझाङबाट डिएसपी ज्ञान बहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के कति कारणले घटेको हो भन्ने विवरण नखुलिसकेको सूचना अधिकारी चौधरीले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९ १०:५०