काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)की केन्द्रीय सदस्य रिना गेलालले चुनावका नाममा देश खोक्रो बनिरहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन बहिष्कार सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
चुनावमा हुने खर्चलाई देशको विकास रयुवालाई रोजगारी दिने क्षेत्रमा लगानी गर्न सकेको खण्डमा देशको मुहार फेरिने उनको भनाइ छ ।
भ्रष्ट र दलालहरुलाई देश लुट्नका लागिमात्रै यो चुनावको नौटंकी गरिरहेको उनको आरोप छ । ‘भ्रष्ट र दलालको गोजी भर्नका लागिमात्रै चुनाव गरिदै छ ।
यसबाट जनाताका कुनै पनि आवश्यकताहरु पूरा हुदैनन् । त्यसैले चुनाव बहिष्कार गर्नुपर्छ,’गेलालले भनिन् । संसदीय व्यवस्था रहेसम्म जनता र देशको मुहार नफेरिने भन्दै जनवादी क्रान्तिको आवश्यकता रहेको उनको भनाइ छ ।
राजतन्त्रलाई घुडा टेकाएको उदाहरण दिँदै अहिलेको विदेशी शक्तिको आडमा रहेको शक्तिलाई पनि घुडा टेकाउन तयार रहेको उनले उद्घोष गरिन् ।
उक्त पार्टीेका केन्द्रीय सल्लाहकार हस्तबहादुर केसीले भ्रष्टचारीलाई नङ्ग्याउनका लागि देशभर नै केन्द्रीय निर्णयअनुसार कार्यक्रम भइरहेको बताए ।
चुनावका विषयमा रहेका भ्रमबारे जनतालाई जानकारी गराउनका लागि बहिष्कार कार्यक्रमको आयोजना गरिएको उनले बताए ।