काठमाडौं– कलेजो क्यान्सरबाट पीडित वीरबहादुर वाइबाले उपचारका लागि सहयोगको याचना गरेका छन् । आर्थिक अभावमा छटपटाइरहेका उनले सहयोगको लागि आग्रह गरेका हुन् । सिन्धुली घ्याङ्लेक–४ का वाइबालाई आर्थिक अभावका कारण उपचार गर्न समस्या भइरहेको छ । विगत केही वर्षदेखि गुजाराका लागि उनले बालाजु गंगाहल छेउमा फलफूल पसल चलाउ‘दै आएका थिए । दुई वर्षदेखि बिरामी परेपछि फलफूल पसल पनि बन्द गरिएको उनले बताए ।
फलफूलका होलसेलर भाइराज श्रेष्ठको पहलमा वाइबाको उपचार पहल थालिएको छ । लामो समयसम्म आफूलाई फलफूलको पैसा तिर्न नआएपछि वाइबाको निवास पुग्दा उनको परिवारको दयनीय अवस्था देखेर उपचारको पहल थालिएको श्रेष्ठले बताए । विरामी वाइबालाई श्रेष्ठले वीर अस्पतालमा लगेर उपचारको प्रक्रियामा सहयोग गरेका छन् । वीर अस्पतालको बेड नम्बर ४१ मा उपचाररत वाइबालाई सञ्जीवनी सेवा केन्द्रले तत्कालका लागि चार हजार सहयोग गरेर आइतबार भर्ना गरिएको छ ।
श्रेष्ठले वाइबाका स–साना छोराछोरीको लागि भए पनि बिरामी वाइबाको उपचार सहयोग गर्न आग्रह गरेका छन् । सञ्जीवनी उपचार केन्द्रका प्रमुख दामोदर गौतमले आर्थिक अभाव भएका बिरामीलाई तत्काल उपचार थाल्न केही सहयोग उपलब्ध गराए पनि सबै उपचार खर्च भने बेहोर्न नसकिने बताए । उनले उपचारमा सहयोग गर्न चाहनेले वीर अस्पतालमै सम्पर्क गरेर सहयोग गर्न अनुरोध गरेका छन् । वाइबाकी श्रीमती मीनाले विगत दुई वर्षदेखि श्रीमान्को उपचारका लागि सात लाख खर्च भएको बताइन् । ‘कमाउने श्रीमान् नै बिरामी परेपछि काठमाडौंमा साना दुई बालबच्चासहित हामीलाई बा‘च्नै समस्या परेको छ,’ उनले भनिन् । वाइबाको परिवारलाई सहयोग गर्न चाहनेले ९८०३९१४०५७ सम्पर्क गर्न सक्नेछ ।