कोलम्बो– श्रीलंकामा उत्पन्न आर्थिक संकटस“ग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक संकट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तीव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन् ।
नवनियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराइसकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति राजापाक्षले अहिले तेस्रोपटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरुमध्ये आठजना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् ।
यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यले सामूहिक राजीनामा दिएका थिए । देशमा आर्थिक तथा राजनीतिक संकट बढेपछि आमनागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
आर्थिक संकटका कारण देशमा अत्यधिक मूल्यवृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ । रासस/एएनआई