काठमाडौं– निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको मतपत्र छपाइ सकेको जानकारी दिएको छ । ती जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म उक्त संख्यामा मतपत्र छापिएको प्रवक्ता पौडेलले जानकारी दिए । यसैबीच, स्थानीय तह निर्वाचन आचारसंहिता उल्लंघन गर्नेविरुद्धको निर्णय चाँडै हुने उनले जानकारी दिए । आचारसंहिता उल्लंघन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको प्रवक्त पौडेलले बताए ।
आयोगले नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ, नेकपा माओवादी केन्द्रलगायतलाई आचारसंहिता उल्लंघन गरिएकोबारे जवाफ मागेको छ । चित्तबुझ्दो जवाफ पेस नगरे कारबाही हुने आयोगले जनाएको छ ।
यस्तै, निर्वाचनलाई अपांगतामैत्री बनाउने र मतदानमा प्राथमिकता दिने विषयलाई आयोगले विशेष ध्यान पु¥याउने प्रवक्ता पौडेलले बताए । निर्वाचन सामग्री व्यवस्थापनका कारण अब निर्वाचनमा बाधा नपुग्ने उनले स्पष्ट पारे । सामान्य प्रशिक्षण कार्य खर्चबाहेक यस पटकको स्थानीय तह निर्वाचन आफ्नै आर्थिक स्रोतबाट सम्पन्न गर्न लागेको उक्त अवसरमा जानकारी दिइयो ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी काममा एकरूपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन यही वैशाख १ गतेदेखि हरेक दिन प्रकाशन गर्दै आएको ‘स्थानीय तह निर्वाचन ई–बुलेटिन’ आयोगको वेबसाइटमा उपलब्ध रहेकोसमेत जानकारी दिएइको छ ।