काठमाडौं – अघिल्लो साता सार्वजनिक एक अमेरिकी प्रतिवेदनमा चार नेपाली शान्ति सैनिकलाई नाबालिग बलात्कारको आरोप लगाइएको थियो । नेपाली सेनाले अनुसन्धान गरेर तीमध्ये दोषी ठहर भएका एकजनालाई बर्खास्त गरेको र बाँकी तीन जना निर्दोष भएको बताएको छ।
मानवअधिकारको विश्वव्यापी अवस्थासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै कङ्गो गएका नेपाली शान्ति सैनिकमाथि गत वर्ष बलात्कारको आरोप लगाइएको जनाइएको छ।
उक्त प्रतिवेदनमा भनिएको छ, ‘प्रत्येक आरोपमा बालबालिकामाथि बलात्कार गरिएको विषय समावेश छ। सेप्टेम्बर महिनासम्म सरकारले ती आरोपबारे अनुसन्धान गरिरहेको थियो।’
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले ती आरोपमाथि अनुसन्धान पूरा भएको र त्यसको जानकारी राष्ट्रसङ्घको न्यूयोर्कस्थित मिसनलाई पठाइएको बताएका छन्।
राष्ट्रसङ्घको कन्डक्ट इन यूएन फिल्ड मिसन अर्थात् राष्ट्रसङ्घीय मिसनमा अवलम्बन गरिएको आचारबारे जानकारी दिने वेबसाइटका अनुसार अघिल्लो वर्षका चार बाल बलात्कारका आरोपमध्ये तीन वटा सन् २०१८र२०१९ को घटनासँग सम्बन्धित रहेको छ।
सन् २०२१ मा लगाइएको आरोपपछि शान्ति सैनिकको भत्ता रोकिएको उक्त वेबसाइटमा रहेको विवरणमा जनाइएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सबै आरोपहरूका सम्बन्धमा अनुसन्धान सम्पन्न भएको र त्यसको निष्कर्ष राष्ट्रसङ्घ मुख्यालयमा पठाइएको जानकारी दिए।
सिलवालले भने, ‘सन् २०२१ मा कङ्गोको मारापो भन्ने ठाउँमा खटिएको एक जना शान्ति सैनिकमाथि यौन दुर्व्यवहार र शोषणको आरोप लागेको थियो। त्यसको विस्तृत अनुसन्धान गरियो र त्यसमा गल्ती देखियो।’
उनलाई तुरुन्त मिसनबाट नेपाल फिर्ता गरेर सैनिक ऐन बमोजिम कारबाही गर्नुका सार्थै सैनिक सेवाबाट बर्खास्त गरेको छ। उनलाई ९० दिन जेलमा पनि राखिएको थियो।’
सैनिक प्रवक्ता सिलवालले उक्त अनुसन्धान र कारबाहीको प्रतिवेदन राष्ट्रसङ्घको कर्मचारीको आचरण र श्रोतको आन्तरिक मूल्याङ्कन गर्ने कार्यालय, अफिस अफ द इन्टरनल ओभरसाइट सर्भिसेज र कङ्गोको मिसन मुख्यालयमा पनि पठाइएको जानकारी दिए।
‘