काठमाडौं - शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताएकी हुन् ।
सञ्चालनको मापदण्डमा नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्युटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ ।
उनले भनिन्, ‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्युटावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौं बाहिरिन्छौं । राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन् । अर्को कुरा यसको सञ्चालनको मोडालिटीसमेत छैन ।’
उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताइन् । मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिता प्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताइन् ।
‘आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौं । पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाडौं उपत्यका क्षेत्रमा जग्गाको अभाव छ’, उनले भनिन् ।