काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहीबार) नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । उनी आज अपराह्न साढे १२ बजे नेपाल आइपुग्ने बताइएको छ ।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने छन् । त्यसैगरी उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । महानिर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिए ।
भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ । महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्वएसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी शनिबार नेपालबाट फर्कने कार्यक्रम रहेको छ ।