काठमाडौं– नेपाली सेनामा कार्यरत वा सेवानिवृत्त सेनाले गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्य ‘सैनिक आचार संहिता कार्यक्रम २०७९’ सुरु भएको छ ।
‘सैनिक आचार संहिता संग्रह–२०७६’ मा उल्लेखित विषयहरुमा शिक्षित गर्ने उद्देश्यले दुई दिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ बलाधिकृत रथी बालकृष्ण कार्कीले सुरु गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बलाधिकृत रथी कार्कीले यस्तो कार्यक्रमबाट नेपाली सेनाको सबै तहका कमाण्डर लगायत तल्लो तहसम्म आचार संहिताबारे ज्ञान अभिवृद्धि हुने बताए । साथै एक आपसमा विश्वासको वातावरण श्रृजना भई नेपाली सेना अझै अनुशासित, नैतिवान र व्यवसायिक फौजको रुपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सोही क्रममा, उनले संविधानप्रदत्त जिम्मेवारीलाई निसङ्कोच बहन गर्नको निम्ति कटिबद्ध नेपाली सेनाका प्रत्येक जवानले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर, उर्जाशिल बनाउन अपरिहार्य रहेको जानकारी गराए । उनले आफ्नो आचरण मर्यादित र नैतिकवान बनाउनको निमित्त यस कार्यक्रमले सघाउ पुग्ने साथै सैनिक सदस्यहरु सबैले स्वस्फूर्त स्वअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रहि कार्यसम्पादन गर्न अपरिहार्य रहेको बताए ।