एजेन्सी — पेरू सरकारले तीन वर्षीया बालिकाको बलात्कारपछि नाबालिगलाई बलात्कार गर्नेलाई नपुंशक बनाउने कानुन ल्याउन लागेको छ । देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कठोर कानुन ल्याउन लागेको हो । न्यायमन्त्री फेरलिक्स चेरोले भने, ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’
नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपंशुक बनाइने न्यायमन्त्री फेरलिक्स चेरोले बताए । ३ वर्षीया बालिकाको बलात्कारको आशंकामा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरूद्ध कठोर कानुन ल्याउन लागेको हो । पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।
सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् । बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् ।
‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ ।’ क्यास्टिलोले यसै साता भनेका थिए । विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् ।