काठमाडौँ— नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लुम्बिनी प्रदेश सरकारको सहयोगमा विद्युतीय स्कुटर निर्माण गरेको छ । नास्टले नमूनाका रूपमा तयार पारेको सो स्कुटर नेपालको बाटोमा सुहाउँदो रहेको जिकिर समेत गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नाष्ट परिसरमा आज आयोजित समारोहमा उक्त विद्युतीय स्कुटरको शुभारम्भ गरेको हो।
लगातार इन्धनको मूल्यवृद्धि भइरहेको अवस्थामा त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने भुषालले बताए । विद्युतीय सवारीसाधन उत्पादनका लागि अन्तर्राष्ट्रियरूपमा उपलब्ध प्रविधि नेपालमा ल्याउने कि नेपालमै नयाँ खोज गर्ने भन्नेबारेमा नास्टजस्ता संस्थाले अध्ययन गरेर सरकारलाई उपयुक्त सुझाव दिन मन्त्री भुसालले आग्रह गरेका छन् ।
विद्युत्को खपत वा भण्डारण गर्न सकिने वा नसकिने भन्नेबारेमा पनि उपयुक्त खोज गर्न आग्रह गर्दै उनले भने , “विद्युतीय सवारीसाधन नेपालमा नै ‘मेड इन’ गर्ने कि ‘मेक इन’ गर्ने भन्नेबारेमा पनि नास्टले उपयुक्त सुझाव दिनुपर्छ ।”
मन्त्री भुसालले यहाँ प्रयोग गरेर बढी भएको बिजुली, भारत तथा बङ्गलादेशमा पनि निर्यात गर्न सकिने र त्यसका लागि वातावरण समेत बनेको बताइन् ।