काठमाडौं – काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित नरेफाँटमा चार राउन्ड गोली र नक्कली सुनसहित प्रहरीले विभिन्न सामान बरामद गरेको छ । कोटेश्वरस्थित नरेफाँटमा सुनमाया श्रेष्ठको घरमा डेरा गरी बस्ने प्रमिला तामाङको डेरा कोठा खाली गर्दा सो सामान फेला परेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार पेस्तोलमा प्रयोग हुने नाइन एमएम लेखिएको ४ थान गोली, नक्कली सुन, नेपाली सेनाको जर्सी, सेनाको कम्ब्याट पोसाक नसिलाएकोलगायत सामान फेला परेको हो । काठमाडौं महानगरपालिकाको प्रतिनिधिसमेतको प्रहरी टोलीले ढोका खोली कोठाभित्र चेक गरेको थियो । यद्यपि, उक्त सामान कसको हो र कुन प्रयोजनको लागि ल्याइएको हो भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बरामद गोली, पहेंलो धातु, कम्ब्याट ड्रेसलगायत कागजात सम्बन्धमा भने प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।