काठमाडौं– नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । व्यवसायी रोहित तिवारीसँग उनले बिहीबार विवाह गरेकी हुन् । केकी र रोहित दुवैले विवाहबारे नखुलाए पनि बुधबार साँझ सामाजिक सञ्जालमा उनीहरूको मेहेन्दी समारोहको तस्बिर बाहिरिएको थियो । बुधबार दिउँसोदेखि नै उनीहरूको विवाह भएको विषयमा चर्चा भएको थियो ।
उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइ मात्रै सहभागी थिए । बिहेको तस्बिर सार्वजनिक गर्दै केकीले आफूहरूले जीवनको नयाँ अध्याय सुरू गरेको बताएकी छन् । उनले दर्शकसमक्ष विवाहको समाचार बाँड्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको समेत बताएकी छन् ।
उनले भनेकी छन्,‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसककंग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु ।
जीवनको नयाँ अध्याय सुरू गर्दैगर्दा म र मेरो जीवन साथीले उपहार स्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौं । यहाँहरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’ फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी केकीले ‘मसान’, ‘आइएम सरी’, ‘श्री पाँच अम्बरे’, ‘फन्को’, ‘बागमती’, ‘भाग सानी भाग’, ‘नाइ नभन्नु ल ५’, ‘कोहलपुर एक्सप्रेस’, ‘छ माया छप्पकै’ लगायत दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् ।
उनी यतिबेला फिल्म ‘बोक्सीको घर’ र ‘सिल्ली फो’ को प्रदर्शनको पर्खाइमा छिन् । व्यवसायी रोहित ‘हाम्रो बजार डटकम’ का प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा फुडमारियोका सह–संस्थापक एवम् सिइओ हुन् ।