काठमाडौं — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिना भित्रमा विभिन्न देशबाट ५० लाख ८५९ थान मोबाइल सेट नेपाल भित्रिएको छ । ती मोबाइल आयात गर्दा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ देशबाट बाहिरिएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७र/७८ मा नेपालले कूल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो । गत आर्थिक वर्ष ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो ।
चालु आर्थिक वर्षमा अर्जेन्टिना, अष्ट्रेलिया,अफगानिस्तान, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, दक्षिण कोरिया, कुवेत, लग्जेम्वर्ग, मलेसिया, माल्टा, नेदरल्याण्ड्स, न्युजल्याण्डm नर्वे, ओमान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, साउदी अरब, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, युएई, बेलायत, अमेरिका, भियतनाम लगायतका देशबाट मोबाइल नेपालमा आएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो नौ महिनामा चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ, भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् ।