काठमाडौं– पिवाइसी बिबिए कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । पब्लिक युथ क्याम्पसको आयोजनामा हुने टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको हो ।
आयोजकले शनिबार पत्रकार सम्मेलन गरी १३ वैशाखदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा कूल १८ टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिताका खेलहरू मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुने छन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटको आधारमा प्रतियोगिता गरिने बताइएको छ । जसमध्ये उपत्यकाबाहिरका टोलीमध्ये ड्र–मार्फत दुई टोली वीरेन्द्र बहुमुखी क्याम्पस चितवन र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जले बाई पाएर सोझै प्रि–क्वार्टरफाइनल प्रवेश पाएका छन् । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियनले आगामी संस्करण आयोजना गर्नुपर्ने प्रावधानअनुरूप पब्लिक युथले यो संस्करण आयोजना गर्न पाएको हो ।
कलेजस्तरको क्रिकेट प्रवद्र्धन तथा खेल भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताको प्रबन्ध निर्देशक सुनिल थापाले जानकारी गराए । पब्लिक युथ क्याम्पसका प्रमुख बलराम थापाले यसअघिका संस्करणहरू जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरूलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रह गरेका छन् ।
प्रतियोगिताको विजेताले ८५ हजार रूपैयाँ तथा उपविजेताले ३५ हजार रूपैयाँ प्राप्त गर्ने छन् । यस्तै विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीहरू तथा प्रत्येक खेलको प्लेयर अफ द म्याच’लाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।