काठमाडौं– इंग्ल्याण्ड तथा राजस्थान रोयल्सका ओपनर जोस बटलर उत्कृष्ट लयमा देखिएका छन् । उनले यसको प्रमाण जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा देखाइरहेका छन् । उनले जारी आइपिएलको सात खेलमा तीन शतक प्रहार गर्दै आपूm लयमा रहेको प्रमाणीत गरेका छन् ।
जारी आइपिएलका सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा रहेका बटलरले सात खेलमा तीन शतक र दुई अर्धसतक पूरा गरिसकेका छन् । उनले जारी सिजनको आइपिएलमा लखनौ र सनराइजर हैदराबादविरुद्ध मात्रै अर्धशतक÷शतकको आकडा पार गर्न सकेनन् । अन्य पाँच खेलमा उनले कम्तीमा पनि अर्धशतक प्रहार गरेका छन् । उनले जारी आइपिएलमा सर्वाधिक ४९१ रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउने खेलाडीले प्राप्त गर्ने ओरेन्ज क्यापसमेत उनीसँगै रहेको छ ।
‘यो एक विशेष प्रदर्शन थियो । मज्जा आयो । मलाई यो स्टेडियम मनपर्छ । यो एक सानदार वातावरण थियो,’ बटलरले शुक्रबारको खेलपछि भने । उनीभन्दा पछि दोस्रो स्थानमा रहेका खेलाडीको रन उनको अन्तर निकै धेरै रहेको छ । दोस्रो स्थानमा रहेको हार्दिक पाण्ड्याको २९५ रन रहेको छ । बटलरले जारी सिजनको आइपिएलमा व्यक्तिगतरूपमासमेत सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्षता कायम गरेका छन् । उनले शुक्रबार भएको डिल्ली क्यापिटलविरुद्धको खेलमा ११६ रनको पाली खेले ।
शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै राजस्थानले अंक तालिकामा १० अंक बनाएको छ । उसको सात खेलमा १० अंक रहेको छ । मुम्बईमा राजस्थानले दिएको २२३ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर २०७ रन मात्रै बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ४४ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
बलिङतर्फ राजस्थानका प्रसिद्ध कृष्णले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले बटलरको शतक मद्दतमा २२२ रन बनाएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९ ०८:१२