काठमाडौं — बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओ को बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्बको १० प्रतिशतले हुने १०० अंकित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका ८ र ९का बासिन्दाका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरेको छ ।
साथै बाँकी ३ लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ । सार्वजनिक आह्वान पत्रअनुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दाले आजदेखि यही बैशाख २५ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी जेठ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।
कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ए ८/८ मेगावाट र रुदी बी ६/६ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंकको लमजुङको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेशीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशीशहर शाखा र आयोजनाको कार्यलयस्थलबाट आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी आईआर बीबी प्लस ईस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।